,

युरोपभर एक महिनामा आठ हजारभन्दा बढी बम राखिएको झुटो धम्की

Bimala Sene Avatar

बेलायत । युरोपका विभिन्न देशमा एक महिनाको अवधिमा आठ हजारभन्दा बढी झुटा बम धम्कीका घटना सार्वजनिक भएका छन् । विद्यालय, विमानस्थल, सञ्चारमाध्यम, विमान सेवा तथा विभिन्न व्यावसायिक संस्थालाई लक्षित गरी यस्ता धम्की पठाइएको रोयटर्सले जनाएको छ ।

रोयटर्सले युरोपेली अधिकारीहरूको विवरण, सञ्चारमाध्यमका समाचार र साइबर सुरक्षा कम्पनीहरूको तथ्यांक विश्लेषण गर्दा पछिल्लो एक महिनामा आठ हजारभन्दा बढी यस्ता घटना भएको पत्ता लगाएको हो । बेलायत, आयरल्यान्ड र इटालीका हजारौँ विद्यालय मुख्य निशानामा परेका छन् ।

अक्टोबर १९ मा उत्तरी आयरल्यान्डको बेलफास्टस्थित सेन्ट जोन द ब्याप्टिस्ट प्राथमिक विद्यालयसहित करिब ३०० विद्यालयमा बम राखिएको भन्दै एउटै प्रकृतिका इमेल पठाइएको थियो । ती सन्देशमा ‘मृत्यु छेउमै छ’ भन्ने धम्कीपूर्ण वाक्यसमेत प्रयोग गरिएको थियो ।

नोभेम्बरको सुरुदेखि धम्कीका घटना थप फैलिएका थिए । नोभेम्बर २ देखि ६ सम्म मात्रै १५ वटा विमान सेवा कम्पनीका ५० भन्दा बढी उडानमा बम राखिएको झुटो सूचना पुगेको थियो । यसका कारण विमानको मार्ग परिवर्तन, उडान रद्द तथा ढिलाइ भएका थिए । केही टेलिभिजन प्रसारणसमेत प्रभावित भए ।

नोभेम्बर ११ मा इटालीका करिब ६ हजार ३०० विद्यालयमा बम राखिएको भन्दै इमेल पठाइएको थियो । त्यस्तै, स्कटल्यान्डका करिब एक हजार, उत्तरी आयरल्यान्डका ३०० र आयरल्यान्डका करिब ३०० विद्यालयसमेत निशानामा परेका थिए । कतिपय विद्यालय खाली गराएर विद्यार्थीलाई घर पठाइएको थियो ।

यी घटनामा प्रयोग गरिएका इमेलमध्ये केहीमा समान भाषा र वितरण विधि भेटिएको छ । साइबर सुरक्षा कम्पनीहरूका अनुसार कम्तीमा चारवटा ह्याक गरिएका इमेल खाताबाट धम्कीपूर्ण सन्देश पठाइएको थियो । एउटा खातासमेत ताइवानका पूर्वविद्यार्थीको नाममा रहेको विश्वविद्यालयले जनाएको छ ।

युरोपेली अधिकारीहरूले यस अभियानमा विदेशी शक्तिको संलग्नता हुन सक्ने आशंका गरेका छन् । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले रुस वा अन्य देशबाट हस्तक्षेप भएको हुन सक्ने सम्भावना औँल्याएका छन् । युरोपेली प्रहरी संगठन (युरोपोल) ले धम्कीको स्रोत पहिचान गर्न अनुसन्धान गरिरहेको छ । तर, यी सबै घटनामा एउटै समूहको संलग्नता रहेको स्वतन्त्र पुष्टि भने भएको छैन ।

रुसी पक्षबाट सञ्चालित हुन सक्ने साइबर समूहहरूमाथि पनि विगतका यस्तै घटनाका आधारमा शंका गरिएको छ । यद्यपि, पछिल्लो अभियानमा रुसको प्रत्यक्ष संलग्नताको प्रमाण सार्वजनिक भएको छैन ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search