लन्डन । किरात धर्म तथा राष्ट्रिय साहित्य उत्थान संघ बेलायतको आयोजनामा राष्ट्रिय विभूति तथा किरात धर्मका महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती बेलायतको केन्टस्थित आस्फोर्डमा भव्य रूपमा सम्पन्न भएको छ।
सन् २०२६ नोभेम्बर १४ तारिख शनिबार सेन्ट साइमन चर्च, आस्फोर्डमा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने सगरमाथा गोर्खा नेपाली कम्युनिटी, आस्फोर्डका अध्यक्ष मोहन सोदेम्बा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। संस्थाका उपाध्यक्ष निर्मल परङवाले स्वागत मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको पहिलो चरणमा अष्टम पूजा आयोजना गरिएको थियो। त्यसपछि प्रमुख अतिथि कमला सेन्दाङ लिम्बू र कार्यक्रमका सभाध्यक्ष राजेन्द्र खिम्दिङले संयुक्त रूपमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा फोक्टन च्याब्रुङ टोलीले स्वागतस्वरूप माङलाङ नृत्य प्रस्तुत गरेको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लाल लिङ्देनले महागुरु फाल्गुनन्दको जीवनी, उहाँको दर्शन तथा समाज सुधारका क्षेत्रमा पुर्याउनुभएको योगदानबारे प्रकाश पार्नुभएको थियो। उहाँले समाजमा सत्य, अहिंसा, नैतिकता, सद्भाव र सामाजिक सुधारका लागि महागुरुले दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो। उहाँका विचार, दर्शन र शिक्षालाई नयाँ पुस्तामाझ परिचित गराउने तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले जन्मजयन्ती आयोजना गरिएको आयोजकले जनाएको छ।
विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू सम्मानित
जन्मजयन्ती समारोहकै अवसरमा संस्थाले भाषा, साहित्य, समाजसेवा, संस्कृति तथा गीत–संगीतलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको थियो।
सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएबापत भीमराज तुम्बाहाम्फे र डम्बर सिङ्गक सम्मानित हुनुभएको थियो। त्यसैगरी लिम्बू भाषा प्रचारप्रसार तथा भाषा–साहित्यको क्षेत्रमा योगदान पुर्याउनुभएका छत्र वनेमलाई सम्मान गरिएको थियो।
लिम्बू संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा प्रशिक्षणमार्फत नयाँ पुस्तामा मौलिक संस्कृतिको हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका शिखर सम्बाहाम्फेलाई पनि सम्मान गरिएको थियो।
नेपालबाट बेलायत आउनुभएका गीत–संगीत क्षेत्रका स्रष्टा तथा गायक राजेन्द्र केरुङलाई सम्मानपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजासहित उत्तीर्ण हुने विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। संस्थालाई लामो समयदेखि निरन्तर सहयोग र साथ दिँदै आउनुभएका गोर्खा भिल्ला, आस्फोर्डका सञ्चालक डम्बर खजुमलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।
यसै अवसरमा ७५ वर्षभन्दा माथिका १० जना ज्येष्ठ नागरिकलाई मायाको चिनोस्वरूप ‘मिक्तोक’ प्रदान गरी सम्मान गरिएको थियो। ज्येष्ठ नागरिकप्रति आदर, सम्मान र कृतज्ञता प्रकट गर्ने संस्थाको यस कार्यले कार्यक्रमलाई थप भावनात्मक र अर्थपूर्ण बनाएको थियो।

किरात पहिचान, भाषा र संस्कृतिको संरक्षणमा जोड
महागुरु फाल्गुनन्दको जन्मजयन्ती धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र सीमित नभई लिम्बू किरात समुदायको मौलिक पहिचान, भाषा, लिपि, संस्कार, संस्कृति र ऐतिहासिक विरासतको संरक्षण तथा प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा समेत लिइन्छ।
बेलायतमा रहेर पनि आफ्नो धर्म, संस्कार, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय नेपाली तथा किरात समुदायको उल्लेखनीय सहभागिताले यस्ता कार्यक्रमको महत्त्वलाई थप उजागर गरेको छ। यस्ता कार्यक्रमले समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक पहिचान हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महागुरु फाल्गुनन्दले प्रतिपादन गर्नुभएका सत्य, शान्ति, अहिंसा, मानवता, नैतिकता र सामाजिक सद्भावका आदर्शलाई आत्मसात् गर्दै उहाँको विचार, दर्शन र योगदानलाई विश्वभर फैलाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव चरपे फुरुम्बोले गर्नुभएको थियो।







