बेलायती सेनाका उच्च अधिकृत बने खाम्चा

Gurkha Channel Avatar

लन्डन । बेलायती सेनाको उच्च अधिकृतमा पुग्ने 
सौभाग्य एक गोरखा सैनिकले पाएका छन् । स्याङजा शिरकोट करादीमा जन्मिएका ५० वर्षीय टोल खाम्चा मगर यसैसाता बेलायती सेनाको छैटौं वरियताको लेफिटनेन्ट कर्णेल पदमा पुग्न सफल भएका हुन् ।

गोरखा भर्तीको २०० वर्षको अवधिमा सो पदमा अहिलेसम्म खाम्चासहित चारजना नेपालीले मात्र पुग्ने अवसर पाएका छन् । सो पदमा सेवारत भने उनी एक मात्र गोरखा हुन् । उनी अघि सो पदमा पुग्ने लालबहादुर पुन, विजय रावत र यामबहादुर राना अहिले सेवा निवृत्त भइसकेका छन् ।

आफ्नो सफलतापछि वीनेपालीसितको कुराकानीमा खाम्चाले भने, ‘यो स्टेजसम्म आइपुगिएला भनेर सोचेकै थिइन ।’ भाग्यमा धेरै विश्वास गर्ने उनी भन्छन्, ‘म असाधारण सिपाही होइन बरु भाग्यशाली भने पक्कै हुं ।’

पांच दाजुभाइ र पांच दिदीबहिनीहरूमध्येका साईंला खाम्चाले प्राथमिक शिक्षा पिताजीले खोलिदिएको गाउंकै स्कुलबाट पूरा गरे । त्यसपछि भने बुटबल सरेर चौराहको कालिका माध्यमिक विद्यालयबाट एसएलसी पूरा गरे । क्याम्पस पढ्न उनी पुगे काठमाडौं । इन्जिनियरिङ विषय पढ्न पुल्चोक क्याम्पस भर्ना भएका खाम्चा बेलायती सेनामा पो भर्ती भए । जबकि उनलाई भर्ती हुन न बाउआमाको कर थियो, न त आफ्नो रहर । भन्छन्, ‘साथीभाइको संगतले लाहुरे भएं ।’

दोस्रो विश्वयुद्ध लडेका उनका पिताजी चाहन्थे खाम्चाले कानुन पढोस्, अदालतमा वकालत गरोस् । उनको आफ्नै रहर चाहिं थियो नेपाली सेनामा भर्ती हुने । ‘नेपाली सेनाका अधिकृतहरूको सान देखेर निकै प्रभावित भएको थिएं’ – खाम्चाले भने । त्यसो त 
काठमाडौंमा बस्दा उनका नातेदार दाइ जसले उनको हेरविचार गर्थे उनले पनि नेपाली सेनामै जान सल्लाह दिएका थिए । ‘भर्ती भइसकेपछि पनि उहांले नजाउ पहिले पढाइ सकाउ र नेपाली सेनामै जाउ भन्नुभएको थियो’- खाम्चाले पुराना दिन स्मरण गरे ।

सन् १९८७ को जनवरीमा भर्ती भएका खाम्चा उतिबेला भर्ती हुन अहिलेजस्तो तीव्र प्रतिस्पर्धा र कठिन शारीरिक परीक्षा नभएको बताउंछन् । क्लर्क र 
प्राविधिकतर्फ भर्ती भएका खाम्चा तालिममा 
हङकङ परे । त्यसपछिको पल्टन बांडफांडमा आफूले मन पराएको इन्जिनियरिङमा जान पाएनन् उनले । बांकी रहेको सिग्नल्समा जानुको विकल्प उनीसित थिएन ।

सेवाको ३० वर्षे अवधिमा उनले महत्वपूर्ण जिम्मेवारी पाए । खासगरी अफगानिस्तानको लडाईं चरमचुलीमा पुगेको बेला सञ्चार उपकरणहरू किन्ने र पठाउने कार्य उनले दुई वर्षसम्म गर्नुपरेको थियो भने त्यसपछि अफगानिस्तानमै गएर ती सामानको जांच गर्नुपर्ने । इराकको बगदादमा अमेरिकी र बेलायती सैनिकको संयुक्त क्याम्पमा तीन तारे र दुई तारे जर्नेलहरूको चिफ अफ 
स्टाफको जिम्मेवारी पनि उनले सम्हाल्नु परयो । यस्तै, रोयल मिलिट्ररी अकाडमी स्याण्डहर्स्ट जो विश्वमै चुनिएको सैनिक शिक्षालय मानिन्छ, त्यहां पनि उनले कमाण्डिङ अफिसर पछिको भूमिका निर्वाह गर्नुपरेको थियो । स्याण्डहर्स्टमा रहंदा ठूल्ठूला प्रोजेक्ट गरेकाले त्यसले अहिलेको स्थानमा पुग्न मद्दत गरेको उनको आत्ममूल्यांकन छ । ‘मलाई कहिले कता कहिले कता पठाइयो । बेस्सरी नै मलाई परीक्षा लिईंदैछ भन्ने लागेको थियो । यसरी विभिन्न ठाउंमा पठाइनु अवसर र जोखिम दुवै हो । यदि ठीकसंग जिम्मेवारी पूरा गर्न नसकी युनिटमै फर्काइयो भने त व्यक्तिगत प्रतिष्ठामा ठूलो धब्बा लाग्छ’, उनले भने । यस्ता जिम्मेवारी कुशलतापूर्वक पूरा गरेकाले नै अहिले सो पदमा पुग्न सम्भव भएको उनी ठान्छन् ।

दुई छोरी, एक छोरा र श्रीमतीको साथमा उनी युकेको अल्डरसटस्थित आर्मी हेड क्वाटर रिजनल कमाण्डमा बसोबासरत छन् ।

 

 

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories