पासा पुचः गुथि यूकेको लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न ।

Bimala Sene Avatar

लन्डन। लन्डन प्लमस्टिडस्थित एशियन कम्युनिटी सेन्टरमा पासा पुचः गुथि यूकेको नेपालकै झल्को दिलाउने लन्डन बिस्का जात्रा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ ।जात्राको मुख्य आकर्षण बेलायतमै निर्माण गरिएका भैरवनाथ र भद्रकालीका रथहरु थिए ।

परम्पराअनुसार मौलिक बाजागाजा र नाचगानसहित दुवै रथहरुलाई तान्दै ख्य (मैदान) मा ल्याएर योसिंद्यो (लिंगो) उठाएपछि बिस्का जात्रा शुरु भएको थियो । त्यसपछि जात्राका सबै सहभागीलाई समे बजी दों बाँडिएको थियो । अन्त्यमा योसिंद्यो ढालेर दुवै रथलाई तीनपटक जुधाइएको थियो ।

जात्रामा आयोजक गुथिका शाखाहरुसहित जम्मा ८ वटा समूहले लगातार दिनभर धिमे बाजा र ढाः बाजाको प्रस्तुति गरेका थिए।

सो अवसरमा प्रस्तुत मौलिक भैरवनाच, कालभैरव नाच र ख्या नाच हेर्न जात्राका सहभागीहरु उत्सुकतापूर्वक झुम्मिएका थिए। बेलायतमा पछिल्लो दश वर्षमा पहिलोपटक ख्या नाच देखाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले जात्राबाट बेलायतमा नेवारी संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको बताए ।

आगामी दिनमा जात्रालाई सबै नेपाली र गैरनेपाली समुदायसमेतमा विस्तार गर्दै जानुपर्ने धारणा उनले राखे । लन्डन बिस्का जात्राले नेपालको सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत टेवा पुर्याएको भन्दै राजदूत आचार्यले आयोजकलाई धन्यवाद दिए ।

सो अवसरमा विशेष अतिथिहरु लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाट र गुठी तथा सांस्कृतिक अभियन्ता गणपतिलाल श्रेष्ठले पनि शुभकामना मन्तव्य दिएका थिए। जात्रा संयोजक माधवलाल श्रेष्ठले स्वागत तथा गुथिका अध्यक्ष सुशिल प्रजापतिले धन्यवाद ज्ञापन गरेका थिए । महासचिव नगेन्द्र श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

आयोजक गुथिका अध्यक्ष सुशील प्रजापतिले जात्रामा उत्साहजनक सहभागिताले आफूहरुलाई उत्साहित बनाएको प्रतिक्रिया दिए। अहिले देखिएका कमीकमजोरीहरु सुधार गर्दै भावी दिनमा जात्रालाई झन् व्यापक बनाउंदै लैजान गुथि प्रतिवद्ध रहेको उनले जनाए।

जात्रास्थलमा मौलिक नेवारी कला, संस्कृति झल्काउने कल्चरल एण्ड हेरिटेज फोटो प्रदर्शनी गरिएको थियो । जसमा नेपाल र बेलायतमै खिचिएका ८० तस्विर प्रदर्शन गरिएको थियो ।

जात्रामा लण्डन र आसपासबाहेक केन्ट, अल्डरसट, रेडिङ, बर्मिङहम, म्यान्चेस्टरदेखि स्कटल्याण्डबाट समेत सहभागीहरु आएका थिए । जात्रामा १७ सय बढी बेलायतवासी नेपाली सहभागीहरुमध्ये झण्डै आधा गैरनेवारहरुको सहभागिता रहेको थियो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories