काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ।
बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले हाजीर जमानीमा वकिलको जिम्मा लगाएर छाड्न आदेश दिएको अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले थाहाखबरलाई जानकारी दिए । शुक्रवार न्यायाधीशहरू कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो।
उक्त रिटमा अदालतको आदेशानुसार उनलाई हिजो उपस्थितमात्रै गराएर लगिएको थियो भने आज सुनुवाइ भएको हो।
उनकी पत्नी सरिका कार्कीले गैरकानीनी थुनामा राखेको भन्दै वैशाख ३० गते दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले आज उक्त आदेश दिएको हो।
चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको ज्यानसमेत गएको थियो। साेही प्रकरणमा पक्राउ परेका उनीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ।