मानवसेवा आश्रम सहयोगार्थ गायिका आनी छोइङको वेलायतमा लाइभ कन्सर्ट हुंदै

Bimala Sene Avatar

लन्डन । मानवसेवा आश्रम वेलायतले आश्रमको भवन निर्माण परियोजना सहयोगार्थ लोकप्रिय गायिका आनी छोइङ डोर्रल्माको कन्सर्ट गर्ने भएको छ ।

आइतबार लन्डनस्थित सरस रेष्टुरेन्टमा आयोजित एक पत्रकार सम्मेलनमार्फत संस्थाले सो जानकारी दिदै आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ अन्तर्राष्ट्रिय कन्सर्ट भइरहने १५ सय दर्शक क्षमताको क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको जनाएकोछ । कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्ने आयोजकले बताएका छन् ।

मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले सकेसम्म न्यूनतम खर्चमा कार्यक्रम गरि त्यसबाट एक लाख पाउण्डबढी वचत गर्ने आयोजकको लक्ष्य छ ।

झण्डै ८ वर्षपछि आनीको बेलायतमा कन्सर्ट हुन लागेको र आनीसंगै उनको ७ जना सम्मिलित वाद्यवादकहरुको टिम पनि नेपालबाट आउने जनाउदै खड्काले कन्सर्ट नितान्त मानवता, मातृभूमि (नेपाल) र मातृत्व (नेपाल आमा) को सम्मानमा दीन, दुःखी, गरिव असहायहरुको सेवाका लागि र जोखिममा रहेका मानवहरुको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारे ।

मानव सेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले विज्ञप्ति वाचन गर्दै कन्सर्टबारे अवगत गराएका थिए । श्रेष्ठले कन्सर्ट केवल सामान्य कार्यक्रममात्र नभएर पृथक र आध्यात्मिक शैलीको हुने जनाए । श्रेष्ठले पवित्र उद्देश्यका लागि गर्न लागिएको कन्सर्टको व्यापक प्रचार प्रसार गरि कार्यक्रम सफल बनाइदिन समेत सबैमा अनुरोध गरे ।

सल्लाहकार शिवजी श्रेष्ठले कार्यक्रम प्रचार प्रसारका लागि मिडियाको अहंम भूमिका हुने जनाउंदै सहयोगको अपिल गरे । उनले सहभागी सबैलाई धन्यवाद समेत दिएका थिए ।

आयोजक समितिकी सदस्य मन्जु भण्डारीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सहसंयोजक समाजसेवी राजु आचार्य, जीवनबहादुर शाही, रमेश श्रेष्ठ, क्याट यूके अध्यक्ष कृष्ण तिवारी र पूर्व अध्यक्ष रितेश राज पाण्डे, आशिष श्रेष्ठ, गायक सन्दिप विश्वकर्मा लगायत सञ्चारकर्मीहरु सहभागी थिए ।

संस्थाले प्रति आश्रमबाट कम्तिमा ३ हजार व्यक्तिलाई नियमित र दिगो सेवा प्रदान गर्न आश्रम निर्माण कार्य बढाइरहेको पनि पत्रकार सम्मेलनमा जनाइएको थियो ।

उक्त अवसरमा मानव सेवा आश्रमले दशकयता गरेको सेवाबारे एक डकुमेन्ट्री समेत देखाइएको थियो । सहयोगको पर्खाइमा सडकमा सुतिरहेका वा साङ्लोमा बेरिएका अनि बलात्कृत महिलाको उद्दारमा निर्मित उक्त ह्दयविदारक डकुमेन्ट्री हेरेर सहभागी निकै भावुक बनेका थिए।

वि.सं. २०८२ सम्म सहयोगापेक्षी सडक आश्रित मानव मुक्त नेपाल निर्माण गर्ने लक्ष्य लिएको मानव सेवा आश्रमले हाल सातै प्रदेशका १९ जिल्लामा २४ सेवाकेन्द्र सञ्चालन गरी ७७ वटै जिल्लाका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गर्दै आएको छ ।

आश्रमको आफ्नै ३ वटा भवन र ३ वटा सरकारी भवन सञ्चालनमा छन् भने यही वर्षभित्र ३ वटा भवन सम्पन्न गर्ने लक्ष्य छ । निर्माणाधिन ४ भवन र भाडामा १० वटा भवन लिएर मानव सेवा आश्रमले सेवा गरिरहेको छ ।

नेपाल सरकारसंग सहकार्य गरिरहेको नेपालको एक प्रसिद्ध परोपकारी संस्था मानव सेवा आश्रमले स्थापनाको एक दशक अवधिमा करिब १० हजार बढी मानसिक र शारिरीक रूपमा असक्त व्यक्तिहरूलाई आश्रय प्रदान गरिसकेको छ भने परिवारबाट अलग गराइएका ३१८० मानिसलाई उनीहरूको परिवारसँग पुनर्मिलन गराएको छ।

उक्त परोपकारी संस्थाले हाल १९ जिल्लामा २४ वटा पुनस्र्थापना केन्द्र सञ्चालन गरि १ हजार ७०० जनालाई आश्रय दिइरहेको छ ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories