लन्डन– भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् । बुधबार ननिटन काउन्सिल हलमा सम्पन्न वार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु मेयर पदमा निर्वाचित भएका हुन् ।
लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत पाए । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित सारुले बुधबार नै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिए । उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरेका थिए ।
शपथ ग्रहणपछि मेयर सारुले नेपालको ग्रामीण भेगमा जन्मेर बुवाको पाइला पछ्याउँदै बेलायती फौजमा भर्ती भएको सामान्य मानिसलाई बेलायतमा मेयरको रुपमा सेवा गर्ने अवसर दिएकोमा काउन्सिल तथा बरोका सम्पूर्ण जनतालाई धन्यवाद दिए । सो अवसरमा उनले बरोमा रहेका सबै वर्ग र समुदायलाई समेटेर काउन्सिलको सेवा प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।
शपथ ग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर सारुले नेपालमा जन्मिए पनि बेलायतमा मेयरसम्म बन्न पाएकोमा खुशी व्यक्त गरे ।

विश्वका विभिन्न ठाउँमा नेपालीले पनि नेतृत्व तहमा बसेर काम गर्न पाउनु समग्र नेपालकै गर्व भएको भन्दै उनले आफूले सिकेका कुरा नेपालमा साटासाट गर्न तयार रहेको बताए ।
गोर्खा भर्तीको दुई सय ८ वर्ष लामो इतिहासमा ननिटनमा पहिलो गोर्खा मेयरको रुपमा निर्वाचित हुन पाउँदा खुशी लागेको उनले बताए ।
को हुन् सारु ?
पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिएका सारुले सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरे । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भए ।
झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन् । सारु रोयल इन्जिनियर्सको ग्यारिजन इन्जिनियरका रुपमा सेवा निवृत भएका थिए । बेलायतमा सन् २०१७ देखि सारु ‘इम्ब्रोइडरी’ व्यवसाय चलाइरहेका उनी बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवीसमेत हुन् । उनी विगत चार वर्षदेखि बेलायती राजनीतिमा सक्रिय छन् ।
साय चलाइरहेका उनी बेलायतमा सफल व्यवसायी मात्रै नभएर समाजसेवीसमेत हुन् ।