काठमाडौँ : चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।
५० जनालाई राज्यविरुद्धको कसुरमा र अरू ११ जनालाई आपराधिक उपद्रव गरेको अभियोगमा मुद्दा दर्ता भएको हो। राज्यविरुद्धको कसुरमा राप्रपाका उपाध्यक्ष धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, दुर्गा प्रसाईंसहित ६१ जनालाई प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए।
यसैगरी दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा पनि प्रतिवादी बनाइएको काफ्लेले जानकारी दिए। चैत १५ गते राजावादीहरूले दुर्गा प्रसाईंलाई जनकमाण्डर तोकेर प्रदर्शन गरेका थिए।
उक्त प्रदर्शन हिंसात्मक बन्दा दुईजनाको ज्यान गएको थियो। यस्तै प्रदर्शनकारीहरूले त्यस दिन व्यक्ति तथा राज्यका सम्पत्तिमा ठूलो नोक्सानी पुर्याएका थिए। यस्तै व्यक्ति तथा सरकारी सवारीमा पनि तोडफोड र आगजनी गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय भएको काफ्लेले बताए। उनीहरूमध्ये २५ जना छुटिसकेका थिए भने ९ जनालाई आज छाडिएको छ।