लन्डन । यूकेमा रहेको नेपाली क्रिकेट टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो जित दर्ता गरेको छ। आईसीसी विश्वकप लिग२ शृंखलाअघिको अभ्यास खेलमा नेपालले सोमबार राति मेरिलबोन क्रिकेट क्लब (एमसीसी)लाई १२३ रनले हराएको हो।
४५ ओभरको खेलमा नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको एमसीसी ३५.३ ओभरमा २१२ रनमा अलआउट भयो। उसका लागि म्याट नोरिसले ५६ तथा लियाम नेलरले ५४ रनको योगदान दिए।
नेपालका सोमपाल कामीले ३ तथा कुशल भुर्तेल र नन्दन यादवले समान २–२ विकेट लिए। रिजन ढकाल, करण केसी र बसीर अहमदका नाममा समान १–१ विकेट रह्यो।
यसअघि, पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभरमा ६ विकेट गुमाउँदै ३३५ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरी र भीम सार्कीले शतकीय इनिङ खेलेर टिमलाई बलियो स्कोरसम्म पुर्याए। दीपेन्द्रले ११० र भीमले १०४ रनको योगदान दिएका थिए। बसिर अहमदले अविजित ३७ रन बनाए।
पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले शुक्रबार कार्डिफको न्युपोर्ट क्रिकेट क्लबलाई ३ विकेटले हराएको थियो।