लन्डन । नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष गेल्जे शेर्पा बेलायतको भ्रमणमा रहेका छन् । यसैक्रममा नेपाल आदिवासी जनजाति महासंघ बेलायतले अध्यक्ष शेर्पासँग अन्तरक्रिया गरेको छ । शनिबार २६ अप्रिल २०२५ अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजना गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले ब्रिटिस गोर्खा र उनीहरुका सन्तानलाई नेपाली नागरिकता दिँदा नेपाल सरकारलाई कुनै हानिनोक्सानी नहुने बताएका छन् ।

ब्रिटिस गोर्खाका सन्तानहरु आफ्नो खुसीले विदेशमा रोजगारीका लागि नगएर उनीहरुलाई एक किसिमले सरकारले बेचेको बताए । नेपाल सरकारले ब्रिटिस गोर्खालाई नागरिकता दिएन भने उनीहरुले नेपालको सम्पत्ति बेच्नु पर्ने र यहाँको लगानी, सीप नेपालमा नजाने उल्लेख गरे ।

साथै अध्यक्ष शेर्पाले महासंघले गरिरहेको पछिल्लो कामहरुको विषयमा समेत जानकारी गराएका थिए । शेर्पाले आदिवासी जनजातिहरु जहाँ रहे पनि एक भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रम नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयु राईको अध्यक्षतामा भएको हो । कार्यक्रम अध्यक्ष राई र केन्द्रीय अध्यक्ष शेर्पाले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए । महासचिव फ्रम दुराले कार्यक्रम सञ्चालन गरेका थिए । अध्यक्ष शेर्पाको भ्रमणबारे अध्यक्ष राईले संक्षिप्त भनाइ राखे ।

कार्यक्रममा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, बुद्धिजीवी तथा साहित्यकार एकेन्द्र गुरुङ, संस्थापक अध्यक्ष थर्क राना, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष बिमला सेने, तमुधीं यूकेका पूर्व अध्यक्ष राचन्द्र गुरुङ, साहित्यकार लीला सेलिङ माबो लगायतका बेलायतमा सक्रिय विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।



