एजेन्सी । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या कम्तीमा २५ पुगेकाे छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै हिजो विस्फोट भएको हो ।
विस्फोटमा ८ सय जना घाइते भएका छन् भने आगो अझै लागिरहेको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसूस भएको बताएका छन् ।
सरकारी सञ्चारमाध्यमका अनुसार अझै ६ जना बेपत्ता छन् । बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धूँवाले ढाकिएको र सडकमा लडिरहेका छन् ।
बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।