लन्डन–अन्तरराष्ट्रिय दुई रियालिटी शो ‘मेरो भ्वाइस् युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ का लागि यूके अडिसनबाट ८ जना छानिएका छन् ।
बेलायत अल्डरसटस्थित एम्पाएर हलमा शनिबार भएको स्थलगत अडिसनबाट मेरो भ्वाइस युनिभर्सका लागि सुमन सेन्चुरी, उरुषा केसी, सुदिप अर्याल शर्मा, सन्तोष पुन, डा. योगेन्द्र कुमार गैरे र एरिक लामा चयन भएका छन् भने मेरो डान्स युनिभर्सका लागि रोशन राई र सुनिता तामांग चयन भए ।
यूके अडिसनबाट छानिएका प्रतिभाहरु थप चरणका लागि नेपाल जाने छन् । उनीहरुको सम्पूर्ण खर्च आयोजक ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका’ ले बेहोर्नेछ ।
मेरो भ्वाइसमा गायिकाहरु शर्मिला बर्देवा र सुनिता दुलाल एवं गंगाराज राईले निर्णायक भूमिका निर्वाह गरेका थिए । त्यस्तै मेरो डान्सको निर्णायक मण्डलमा नेपालबाट आएका अभिनेता धिरेन शाक्य, नायिका केकी अधिकारी र मोडल-डान्सर रिना थापामगर थिए ।
फाउन्डेसन अध्यक्ष अधिकारीले पानसमा दीप प्रज्वलन गरि कार्यक्रम शुभारम्भ गरेका थिए । यूके अडिसनमा सहभागी सबैलाई संस्थाको तर्फबाट धन्यवाद र शुभकामना दिंदै उनले जो जहांको भएपनि एउटै नेपाली हो भन्ने भावना लिएर गीतसंगीतको माध्यमबाट संसारभरका नेपालीलाई नेपालमा जोड्न रियालिटी शो परिकल्पना गरिएको बताए ।