न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व.ईमान सिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण भएको वृतचित्र प्रदर्शन हुने भएको छ ।
यही मार्च ०९, २०२५ मा ईमान सिङ्ग चेम्जोङ्ग मेमोरियल फाउन्डेसनको प्रस्तुति र किरात याक्थुङ चुम्लुङ्ग अमेरिका र चेम्जोङ्ग बंश अमेरिकाको ब्यवस्थापनमा वृतचित्र प्रदर्शनको समय तय भएको किरात याक्थुङ चुम्लुङ्ग अमेरिकाका अध्यक्ष दीपक थेबेले जानकारी दिनु भयो ।
ग्याल सुम्दो सेवा संस्था हल न्यूयोर्कमा प्रदर्शन हुने वृत्तचित्र दिनको १ बजे र ३ बजे गरि दुई समयमा प्रदर्शन हुने जनाइएको छ । स्व. ईमान सिङ्ग चेम्जोङ्ग नेपाल सरकारले राष्ट्रिय विभूतिू भनि चिनारी गरि सकेका ब्यक्ति हुन् । चेम्जोङ्गको नाममा नेपाल सरकारले हुलाक टिकेटसमेत छापी सकेको छ ।
इतिहासकार स्व. इमान सिङ्ग चेम्जोङ्गको जीवनीमा निर्माण गरिएको वृतचित्र कुनै ब्यवसायिक प्रयोजनका लागि नभइ चेम्जोङ्गले लिम्बु समुदायप्रति गरेका योगदानलाई समुदाय माझ पु¥याउने उदेश्यले निर्माण गरिएको चेम्जोङ्ग बंश अमेरिकाका महासचिव गजेन चेम्जोङ्गले बताए ।
लिम्बु समुदायमा चेम्जोङ्गको योगदानलाई अझ बढी फैलाउन निर्माण गरिएको वृतचित्र ४५ मिनेटको रहेको छ । वृतचित्र प्रदर्शनको जानकारी सहित आयोजकले न्यु योर्क राज्य नजिक कनेक्टिकट राज्य, न्यु जर्सी राज्यमा बसोवास गर्ने सम्पूर्ण नेपालीलाई वृतचित्र हेर्न आह्वान गरिएको वृतचित्र निर्माण संयोजक बुद्ध चेम्जोङ्गले बताए ।