पाँचथर : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को प्रदेश १ को प्रादेशिक महाधिवेशन आगामी माघ ५ देखि ७ गतेसम्म पाँचथरको फिदिममा हुने भएको छ ।
मंगलबार फिदिममा प्रदेश अध्यक्ष सन्तबिर तामाङको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश १ का महासचिव विनोद कुमार सुब्बा (सन्देश) ले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्य सुजता लिम्बू, विजय बिध लावती, राजेन्द्र दुष्ट, पाँचथर अध्यक्ष रामचन्द्र तामाङसहित प्रदेश र जिल्ला पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
महाधिवेशनका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रदर्शन र पर्यटकीय क्षेत्रहरूको भ्रमण आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिए। उद्घाटन समारोहका लागि प्रमुख अतिथि पूर्व संघीय मन्त्री सुदन किराँती उपस्थित हुने तयारी गरिएको छ भने फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईको पनि उपस्थिति रहने छ।
महाधिवेशनको बन्द सत्रमा निर्वाचन मण्डलसमेत गठन गरिएको छ । निर्वाचन मण्डलको संयोजकमा दिपिन राई तथा सदस्यहरूमा अधिवक्ता सन्त कुमार राई र निभिका सुब्बा रहने निर्णय गरिएको छ। महाधिवेशनले प्रदेश १ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
त्यस्तै, फोनिजको पाँचथर जिल्ला अधिवेशन पुस २९ गते फिदिममा आयोजना गरिने जिल्ला अध्यक्ष तामाङले जानकारी दिएका छन् ।