काठमाण्डाै – कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर (जीबी) राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।
१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन ।
यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको छ । पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ ।
रास्वापा सभापति रवि लामिछानेसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र पर्सि आइतवार मात्र दर्ता हुने कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो ।
जिल्ला सरकारी वकिलको कार्यालयले आज पूरक अभियोजन दर्ता भएका प्रतिवादीहरूलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गतको कसूरमा मुद्दा चलाउन सिफारिश गरेको छ । रवि लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रहरीले गएको सोमवार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सहकारी ठगीको आरोपमा प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर कास्की लगेको थियाे । त्यसपछि प्रहरीले लामिछानेलाई रुपन्देही, काठमाण्डौ, चितवन र पर्सा लगेर बयान लिएको छ ।
सम्पत्ति शुद्धीकरण मामिलामा समेत अनुसन्धान गर्दा प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशी पक्राउ परेको आज राति ९० दिन पूरा हुने भएकोले आइतवारसम्ममा मुद्दा दर्ता भइसक्नुपर्नेछ ।