काठमाडाैँ । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । मतगणना सकिएपछि आइतबार राति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो ।
शर्मा कांग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनको साझा उम्मेदवार हुन् । अध्यक्ष पदका लागि युनियनकै रमेश विष्टले वागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले समर्थन गरेका थिए ।
अध्यक्षकै लागि शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिएका थिए । आइतबार राति सार्वजनिक भएको मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित निर्मला शर्माले ४ हजार २८२ मत प्राप्त गरी विजयी भइन्। विष्टले ३ हजार २०३, सापकोटाले २७० र लामाले ९६ मत ल्याए ।
शर्मा नेपाल पत्रकार महासंघमा पहिलो महिला अध्यक्ष हुन् । महासंघको पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै युनियन र चौतारीको गठबन्धनका उम्मेदवारले जितेका छन्।
वरिष्ट उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मत ल्याएर विजयी भए। रोसन पुरीले २ हजार ८८६ मत ल्याँदा गोविन्दप्रसाद चौलागाइँले ५४८ मत ल्याए । महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मत ल्याएर विजयी हुँदा गंगा पौडेलले २ हजार ६४४ मत ल्याइन्।
समावेशीतर्फको उपाध्यक्षमा उमिदप्रसाद बागचन्द ४ हजथार २९२ मत ल्याएर विजयी भए । महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत ल्याएर विजयी भए। लेखनाथ न्यौपानेले १ हजार ९२९, जन्मदेव जैसीले १ हजार १५८, प्रकाश थापाले ४८८ मत ल्याए । कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारी विजयी भए। उनले ३ हजार ८४७ मत ल्याउँदा रामकृष्ण ज्ञवाली ३ हजार ४६४ मत पाएका थिए।
अरू सबै पदाधिकारीमा युनियन र सेन्टरको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षसहित विभिन्न पदमा १२४ को उम्मेदवारी परेकोमा ५२ जना निर्वाचित भएका छन्। यीमध्ये ३ पद निर्विरोध हुँदा ४९ पदमा मंसिर २८ गते भएको चुनावबाट निर्वाचित भएका हुन्।