लन्डन । कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने हरि बुढामगर ‘एमबीइ’ अवार्डबाट सम्मानित भएका छन् ।
वीन्जर क्यासलमा बुधबार आयोजित समारोहमा प्रिन्सेस आनको बाहुलीबाट उनले ‘मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक पाए ।
अद्भूत उपलब्धि र बेलायत अनि समुदायका लागि उत्कृष्ट सेवा गरेवापत सरकारको सिफारिसमा राजदरबारले उक्त प्रतिष्ठित पदक प्रदान गर्ने गर्छ ।
बेलायतको क्यान्टबरी केन्ट बस्ने बुढामगरले अवार्ड लिने क्रममा राजकुमारीसंग म सातवटा सर्वोच्च शिखर चढ्ने अभियानमा छु भन्दा उनी केही बेर बोल्न नसकेको स्मरण गरे ।
‘अवार्ड पाएपछि खुशी हुने त भइहाल्छ । यसले राम्रो काम गरे रिकग्नाइज हुंदो रहेछ भन्ने भएको छ’, उनले भने, ‘यसले मेरो डिसएबिलिटी अवारनेस गर्ने मुख्य उद्देश्यमा थप प्रेरणा मिलेको छ ।’
बुढामगरले सन् २०२६ भित्र सातै महादेशको सर्वोच्च शिखर (सेभेन समिट) आरोहण गर्ने लक्ष्यसहित हालसम्म ४ वटा सगरमाथा (एसिया), मन्ट ब्लंक (युरोप), अफिकाको माउन्ट किलिमन्जारो र नर्थ अमेरिकाको डेनाली हिमाल आरोहण गरिसकेका छन् ।