लन्डन- अंग्रेजी नयाँ वर्षमा लन्डनमा आयोजना हुने विश्व प्रतिष्ठित परेडमा पहिलोपटक बेलायतस्थित नेपाली समुदायले पनि भाग लिने भएको छ । आगामी जनवरी १ तारिख नयाँ वर्षका दिन लन्डनमा आयोजना हुने ‘लन्डन न्यू इयर डे परेड’ मा नेपाली समुदाय पनि सहभागी हुने तयारीमा जुटेको हो ।
लन्डनको रोयल बरो अफ ग्रीनवीचका मेयर जीत रानाभाटको विशेष पहलमा बरोको प्रतिनिधित्व गर्दै स्थानीय नेपालीहरुले परेडमा भाग लिने भएका छन् । साउथ इष्ट लन्डनमा रहेका विभिन्न नेपाली संघसंस्थासमेतको सहभागितामा परेडमा नेपाली भेषभूषा, बाजागासहितका मौलिक कला, संस्कृति झल्काउने प्रस्तुति देखाउने तयारी गरिएको छ ।
परेडमा नेपाली समुदायको सहभागिताको संयोजन गरिरहेका स्थानीय समाजसेवी श्रीचन्द्र गुरुङले परेडमा नेपाली मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरु प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए ।
मिडल्यान्डको कोभेन्ट्रीबाट आउने नौमती बाजादेखि पासा पुचः यूकेको धिमेबाजासम्मका मौलिक नेपाली कलात्मक प्रस्तुति परेडमा देखाइने उनले बताए । एक समूहबाट अधिकतम १ सय जनासम्म सहभागी बन्न पाइने परेडमा भाग लिने नेपालीहरु आ-आफ्नो पहिचान झल्काउने मौलिक भेषभूषामा उपस्थित हुनेछन् ।