लन्डन । श्वका सबैभन्दा वृद्ध पुरुष बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टस्थित केयर होममा सोमबार निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उधृत गर्दै बताएको छ ।
टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए । “उनको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”
टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायूको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए । “तपाई या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उनले भनेका थिए । उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए । “यदि तपाई धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईले धेरै केही गर्नुभयो भने तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भनेका थिए ।
दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरुमा हिसाब किताबको काम गरे । उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए भने हरेक शुक्रबार माछा र चिप्स खाने गर्थे । विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका हुन् ।