काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायतसहित ६ देशका लागि राजदूत नियुक्त गरेका छन् ।
नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार चन्द्रकुमार घिमिरेलाई संयुक्त अधिराज्य (बेलायत), डा शैल रुपाखेतीलाई जर्मनी, जंगबहादुर चौहान रुसी महासङ्घ, डा नरेशविक्रम ढकाललाई साउदी अरेबियाका लागि राजदूत नियुक्त गरेका हुन् ।
यस्तै थाइल्याण्डका लागि आवासीय राजदूत धनबहादुर ओलीलाई क्याम्बोडिया र गणतन्त्र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसैबीच आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका लागि नवनियुक्त राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालयमा आइतबार आयोजित समारोहमा रीता धिताल (इस्लामिक गणतन्त्र पाकिस्तान), रमेशचन्द्र पौडल (कतार), प्रा धनप्रसाद पण्डित (इजरायल) र प्राडा कृष्णप्रसाद ओली (जनवादी गणतन्त्र चीन)का लागि नवनियुक्त राजदूतले शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।