लन्डन । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले बेलायतमा पनि ऐतिहासिक सफलता प्राप्त गरेको छ । पछिल्लो समय देश विदेशमा सर्वाधिक लोकप्रिय बनेको यो चलचित्र बेलायतको चलचित्र प्रदर्शन गृह ‘सिनेवर्ल्ड’ मा भव्यताकासाथ् प्रदर्शन भइरहेको छ ।
फाट्टफुट्ट नेपाली चलचित्र प्रदर्शन भएपनि केहि दिन मात्र चल्ने र पर्याप्त दर्शक नहुने सिने वर्ल्डमा यसपटक भने दैनिक शो संख्या थपिंदै गएको भने हल खचाखच भरिने क्रम जारी छ । अझै एक सातासम्मका लागि विभिन्न शहरमा शो निर्धारण भइसकेका छन् ।
यसअघिका चलचित्रमा हलमै गएर टिकट काटेर हेर्न सम्भव थियो भने ‘पूर्णबहादुरको सारङ्गी’ हेर्न पहिला नै टिकट काट्नुपर्ने वाध्यता छ । बाबुछोराबीचको सम्बन्धमा आधारित यो चलचित्र हेर्न बेलायतका नयाँ पुस्तासमेत आकर्षित देखिएका छन् ।
बेलायतका दुई दर्जन बढी सिने वर्ल्डहरुमा प्रदर्शन गरिंदै आएको ‘पूर्णबहादुरको सारङ्गी’ले एकसाता पुग्न लाग्दा पनि राम्रै दर्शक पाइरहेको छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा विजय बराल र प्रकाश सपुतसहित अञ्जना बराईली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङलगायतको भूमिकाले चलचित्रको कथावस्तुलाई न्याय दिएको धेरैको धारणा छ । १ सय ४५ मिनेट लामो चलचित्र पूर्ण बहादुरको सारंगी हेर्दा समय बितेको पत्तै नहुने दर्शक प्रतिक्रिया छ ।
नेपालीहरुको बाक्लो वस्ती भएका शहरहरु अल्डरसट, हन्स्लो, फेल्थम, आसफोर्ड, ब्लेक्स्लीहिथ, वेम्ब्ली, वार्टफोर्ड, रइस्लीप, एडिनबरा, ग्लास्गो, बेलफास्टलगायत क्षेत्रका दर्जनौं सिनेवर्ल्डमा चलचित्रले एक साता बित्न लाग्दा पनि स्थान पाइरहेको छ ।