काठमाडाैँ । अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार साँझ मतदान सुरू भएको छ । राष्ट्रपतिका दुई मुख्य उम्मेदवार, डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबीच मुख्य प्रतिस्पर्धा छ । यसअघि नै आधा मतदाता अर्थात् ८ करोडले मत हालिसकेका छन् भने बाँकीले आज मतदान गर्नेछन्। अमेरिकामा मतदानको दिन अगावै हुलाकबाट आफ्नो मतपत्र पठाउन मिल्छ।
धेरैजसो अमेरिकी राष्ट्रपतीय निर्वाचनहरूमा कसले जित्न सक्छ भनेर निर्वाचनको दिनसम्म बलियो अनुमान भइसकेको हुन्छ। किनभने, त्यहाँ मत सर्वेक्षण गर्ने दर्जनौं विश्वसनीय संस्थाहरूले मतदान सुरू हुनुभन्दा धेरै महिना अगाडिदेखि सर्वेक्षण गर्छन्। सबै सर्वेक्षणहरूको औसतले प्रायः कुन उम्मेदवारले जित्छ भनेर स्पष्ट संकेत गरेका हुन्छन्।
यसपालिको चुनावमा भने मत सर्वेक्षणहरूले इतिहासकै सबभन्दा कडा प्रतिस्पर्धा हुने अनुमान गरेका छन् ।
यसपालिको निर्वाचनको दौडमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति ट्रम्प मैदानमा छन्। अरू केही उम्मेदवारहरू पनि छन्। तर उनीहरू प्रति मतदाताको समर्थन नगन्य छ।
राष्ट्रव्यापी मत सर्वेक्षणहरूले ह्यारिस र ट्रम्पबीच एक प्रतिशतभन्दा कमको मतान्तर देखाएका छन्। र, निर्वाचनको अन्तिम परिणाम कसको पक्षमा जान्छ भन्ने अनुमान कसैले लगाउन सकेका छैनन्। जसको पक्षमा पनि परिणाम जान सक्छ भन्ने सम्भावनाका कारण पनि अमेरिकामा मात्र होइन, विश्वभरि नै यो निर्वाचनलाई चासोपूर्वक हेरिएको छ। त्यसै पनि महाशक्ति राष्ट्र अमेरिकाको चुनावमा अरू मुलुकलाई चासो हुने नै भयो।
अमेरिकी राष्ट्रपति मतदाताले दिएको पुपलर मतका आधारमा चुनिँदैन। अर्थात् अमेरिकाभरि जसले धेरै मत ल्यायो, त्यही व्यक्ति नै राष्ट्रपति चुनिन्छ भन्ने छैन। अमेरिकामा फरक निर्वाचन प्रणाली छ ।