काठमाडौं : युरोपेली च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पार्टा प्रहलाई ५–० ले पराजित गरेको छ।
सिटीको घरेलु मैदानमा गएराति जित दर्ता गरेसँगै च्याम्पियन्स लिगमा सबैभन्दा धेरै खेलमा अपराजित टिमको रेकर्ड बनाएको छ।
सिटीलाई जित दिलाउन इर्लिङ हाल्यान्डले दुई गोल गरे। खेलको तेस्रो मिनेटमा अकान्जिले दिएको पासमा फिल फोडेनेल गोल गरेर टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक गोल मात्रै गरेको सिटीले दोस्रो हाफमा चार गोल थप्यो। साभियोको पासमा ५८ औं मिनेटमा हाल्यान्डले व्यक्तिगत पहिलो गोल गरे। नुनेजको पासबाट पाएको बलमा जोन स्टोन्सले ६४ औं मिनेटमा गोल गरेका थिए।
त्यसैगरी, नुनेसकै पासमा हाल्यान्डले ६८ औं मिनेटमा गोल गर्दा नुनेजले ८८ औं मिनेटमा गोल गरेका हुन्। हाल्यान्डले सिटीको लागि २३ खेलमा २१ गोल गरेका छन्। उनी सर्वाधिक छिटो २० गोल पुरा गर्ने दोस्रो खेलाडी हुन्। यसअघि रुड निस्टेलरोयले २० खेलमा २१ गोल गरेका थिए।
यो जितसँगै सिटीले लगातार २६ खेलमा जितदर्ता गरेको छ। उसले म्यानचेस्टर युनाइटेडले बनाएको लगातार २५ खेलको जितको शृंखलाको रेकर्ड तोडेको छ। युनाइटेडले सन् २००७ र २००९ बीच २५ खेलमा अपराजित यात्राको कीर्तिमान बनाएको थियो।