काठमाडौं : यूएफा च्याम्यिन्स लिगमा भिनिसियस जुनियरले ह्याट्रिक गरेपछि रियल मड्रिडले बोरुसिया डर्टमण्डविरुद्ध पुनरागमन जित निकालेको छ।
पहिलो हाफमा २–० ले पछि परेको स्पेनिस टोलीले दोस्रो हाफमा ५ गोल गर्दै जर्मन टोली डर्टमण्डलाई ५–२ गोल अन्तरले पराजित गरेको हो।
३० औं मिनेटमा डोनेल मालेन र त्यसको ४ मिनेटपछि जेमी गिटेन्सको गोलले सान्टियागो बर्नाबेउमा घरेलु समर्थकलाई आश्चर्यमा पार्दै डर्टमण्डले अग्रता बनाएको थियो। २० वर्ष ७५ दिनमा गोल गरेका गिटेन्स, रियालविरुद्ध गोल गर्ने सबैभन्दा युवा इंग्लिस खेलाडी बने। भ्रमण टोलीले यो अग्रतालाई १ घण्टासम्म काय राख्यो।
६० औं मिनेटमा एन्टोनियो रुडिगरले हेडरमार्फत गोल फर्काएपछि स्पेनिस च्याम्पियन्सलाई खेलमा फर्काउने प्रयास गरे। दुई मिनेटपछि भिनिसियस जुनियरले गोल गर्दै खेल बराबरीमा फर्काए। ८३ औं मिनेटमा कप्तान लुकास भाज्क्वेजले गोल गरेपछि घरेलु टोली रियालले ३–२ को अग्रता बनायो।
त्यसपछि भिनिसियस जुनियरले ८६ औं मिनेट र अतिरिक्त समयमा तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि रियालले ५–२ को रामाञ्चक पुनरागमन जित हात पार्यो।
च्याम्पियन्स लिगमा घरेलु मैदानमा रियाल मड्रिडको १४ खेलको अपराजित यात्रामा ब्रेक लगाउने डर्टमण्डको योजना पूरा हुन सकेन।
३ खेलमा २ जित र १ हारसहित ६ अंक जोडेको रियाल तालिकाको नवौं स्थानमा छ र समान खेलमा ६ अंक नै रहेपनि गोल अन्तरमा अघि रहेको डर्टमण्ड पाँचौं स्थानमा छ।