लन्डन । गोर्खा मिडिया यूकेकाे चौथो वार्षिकोत्सवकाे अवसरमा विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुर्याउने ६ जनालाइ सम्मानसहित पुरस्कृत गरिएकाे छ ।
अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा आइतबार अायाेजना गरिएकाे विशेष समारोहबीच तमु धीं यूकेका अध्यक्ष तथा समाजसेवी हरि गुरुङ, तमु समाज यूकेका निवर्तमान अध्यक्ष तथा समाजसेवी शिवकुमार गुरुङ, युवा व्यवसायी धन तामाङ र मिस यूके नेपाल २०१७ की उपाधि विजेता सिर्जना गुरुङलाई सम्मान गरिएको हो ।
साे अवसरमा सम्मानीत हुने व्यक्तिहरूलाइ खादा, दोसल्ला, मायाको चिनो, नगद प्रमाणपत्रले सम्मान गरिएको थियो ।
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष विमला सेने प्रमुख अतिथि रहेकी थिइन् । प्रमुख अतिथि सेने, प्रबन्ध निर्देशक तमुले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
यस्तै नेपालमा रहेका दुई जना वरिष्ठ कलाकारलाई पनि गोर्खा मिडियाले नगदसहित पुरस्कार दिने घोषणा गरेको छ । लोकगायिका लमजुङकी मायादेवी थापा गुरुङ र कास्कीका अभिनेता गमबहादुर गुरुङ जनही १५ हजार रुपैयाँ प्रदान गरिने भएको हो । उनीहरु नेपालमा रहेकाले निकट समयमै अर्को कार्यक्रममार्फत सम्मान प्रदान गरिने गोर्खा मिडियाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेले पत्रकारहरूले संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने समय रहेको बताइन् । गोर्खा मिडियाले छोटो समयमा नै बेलायतमा मात्र नभएर संसारभर रहेका नेपालीमाझ छुट्टै पहिचान बनाएको उनको भनाइ थियो ।