लन्डन । तमु समाज यूकेले संस्था स्थापनाको १७ औं वर्षगांठ मनाएको छ । समाजले गत २८ सेप्टेम्बर शनिबार लन्डन वेम्बलीस्थित बारहामपार्कमा अवस्थित आफ्नै समाज घरमा वार्षिकोत्सव मनाएको हो ।
तमु समाज यूकेले विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै यसपटक बढी तामझाम नगरि पारिवारिक माहोलमा वार्षिकोत्सव मनाइएको जनाएको छ । समाजकी अध्यक्ष बिन्दु कुमारी गुरुङ, प्रमुख अतिथि ग्रीनवीच मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ र युवा समूहका प्रजुल गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष भीम गुरुङले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धि समेट्दै स्वागत मन्तव्य राखे भने तमु समाज यूकेका सल्लाहकार तथा गोर्खा जिल्ला गुरुङ समाज यूकेका संस्थापक ले. रि थमप्रसाद गुरुङ, सल्लाहकार काउन्सिलर कमल गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ आदिले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमकाे अवशरमा तमु समाज यूकेले संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गोरखा जिल्ला तमु समाज यूकेका अध्यक्ष टेकमान गुरुङलाई सम्मान गरयो । उनलाई तमु समाज यूके अध्यक्ष, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूह अध्यक्षले फेटा र खादा लगाएर सम्मान गरेका थिए ।
सोही क्रममा यस वर्ष समाजलाई तन, मन र धन दिएर अहोरात्र खटिने तीन सदस्यलाई ‘उत्कृष्ट समाजसेवा सम्मान २०२४’ ले सम्मान गरिएको छ । सम्मानित हुनेमा भद्र कुमारी गुरुङ, विजयता गुरुङ र लक्ष्मी गुरुङ थिए । अध्यक्ष, प्रमुख अतिथि र संस्थापक अध्यक्षले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरे ।
सम्मानकै क्रममा तमु प्येल्हु संघ यूकेका पूर्व अध्यक्ष सोम गुरुङ र पत्नी बबिता गुरुङ लाई अध्यक्ष घले, प्रमुख अतिथि र संस्थापक अध्यक्षले विशिष्ठ सम्मान पत्र, खादा, फेटा र पछ्यौरा ओढाएर सम्मान गरे ।