काठमाडौँ । ‘सिधा कुरा’ डटकम ‘डार्क फाइल’ भनेर प्रसारण/प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा संलग्न सबैलाई जेल सजाय हुने फैसला भएको छ ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ‘फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन/प्रसारण गर्ने सिधा कुरा अनलाइनका सञ्चालक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३/३ महिना कैद सजाय सुनाएको हो ।
सिधा कुरा अनलाइनको हकमा ५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । अनलाइनले आफैं क्षमयाचना गरेमा ५ हजार जरिवानाको सजाय मिनाहा हुने फैसलामा उल्लेख छ । सिधा कुराका सञ्चालक र सम्पादकलाई लिखित निवेदन दिएर प्रसारित सामग्रीमा क्षमायाचना गरेमा तोकिएको सजाय घटाएर ७ दिन कायम हुने उल्लेख छ । तिमल्सिनाको हकमा भने तोकिएको सजाय भुक्तान गर्नुपर्नेछ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले मुद्दाको किनारा लगाएको हो ।
‘सिधा कुरा’ले सर्वोच्च अदालतका न्यायाधीश, मिडिया सञ्चालक, कानुन व्यवसायीका सम्बन्धमा भ्रामक प्रचार सामग्री तयार पारी प्रसारण र प्रकाशन गरेको थियो । उक्त कार्यले अदालतको न्याय सम्पादनमा गम्भीर असर परेको भन्दै सर्वोच्च अदालतका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध अदालतको अवहेना मुद्दामा निवेदन दिएका थिए ।