लन्डन । बेलायतमा नेवारी समुदायले ८ औं तः नेवा मुना आयोजना गरेको छ ।
प्रत्येक दुई वर्षमा हुने यो बृहत् नेवारी भेला पासा पुचः गुथि यूके रेडिङ च्याप्टरको संयोजनमा शनिबार बेजिङस्टोकस्थित अल्डवर्थ स्कुल हलमा सम्पन्न भएको हो ।
कार्यक्रममा बेजिङस्टोकका मेयर काउन्सिलर डान पट्टी लगायत स्थानीय सरकारका प्रतिनिधि, प्रहरी प्रमुख र नेपाली जातीय संघसंस्थाका प्रतिनिधिहरु गरि करिब ४५० जना सहभागी थिए ।
उक्त कार्यक्रममा नेवा: समुदायका प्रमुख देव-देवी कुमारी, बाराही, भद्रकाली, महाकाली र विन्ध्यावासिनी देवीका ५ वटा रथ यात्रा साथै प्रदर्शन गरिएका रथहरु जुधाउने जात्रा (ख: ल्वाखेउ) गरिएको थियो ।
सो अवसरमा मन्जुश्री, कुमारी, लाखे, भैरव गण नाच, धिमे प्याखं, हु:ला प्याखं आदि प्रस्तुत गरिएको थियो भने ६ वटा बाजा टोलीले धिमे बाजा, धॉ: बाजा, खिं:बाजा जस्ता विभिन्न तीन दर्जन बाजा प्रस्तुत गरेर माहोल रोमाञ्चक बनाएको थियो ।
कार्यक्रममा नेवारी महिलाले लगाउने पोषाक हाकु पटाक्षीद्वारा सजिएका रेडिङ च्याप्टरका मैजु समूहले प्रस्तुत गरेको धिमे नाचले सबैको ध्यान खिचेको थियो ।