लन्डन । तमु धीं यूकेले नेपाली दूतावास लन्डनकी नियोग प्रमुख रोशन खनाल र द्वितीय सचिव रामबाबु नेपालको बिदाइ गरेको छ ।
सोमबार ९ सेप्टेम्बर २०२४ मा मिचेटस्थित आफ्नै भवनमा एक समारोह आयोजना गरी कार्यवहाक राजदूतसमेत रहेकी खनाल र द्वितीय सचिव नेपाललाई बिदाइ गरिएको हो । खनाल र नेपाललाई अध्यक्ष हरि गुरुङले फेटा, खादा, पुष्पगुच्छा र मायाको चिनोसहित बिदाइ गरेका थिए । खनाल र नेपाल चार वर्षे कार्यकाल सकाएर केही दिनमै नेपाल फर्कंदै छिन् ।
तमु धीं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालक महासचिव डा. विशाल गुरुङले स्वास्थ्य र सुरक्षा बारे जानकारी गराएका थिए । बिदाइ कार्यक्रममा नियोग प्रमुख खनालले बेलायतमा ४ वर्ष बिताएका गतिविधि भिडियोमार्फत देखाइएको थियो । सोही अवसरमा बेलायत भ्रमणमा रहेका वरिष्ठ पत्रकार एवं फोनिजका निवर्तमान अध्यक्ष डण्ड गुरुङ र कलाकार शिवदास गुरुङलाई समेत बिदाइ गरिएको थियो ।