काठमाडाैं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा पत्र बुझाएका हुन् ।उनले विष्टलाई नै कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएका छन् ।
पत्रकार महासंघको अधिवेशन दुई पटकसम्म हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ । मिति तोकेको एक सातासम्म पनि कार्यतालिका ल्याउन नसकिएको उनको भनाइ छ । साथै सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रूपमा अगाडि बढाउन बोलाएको बैठकमा केही पदाधिकारी र सदस्यहरू बैठक नसकिँदै बाहिरिनु र उपस्थितिमा हस्ताक्षर नगर्नेजस्ता समस्या देखिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
यस्तो अवस्थामा निर्वाचन गराउन नसकिने उल्लेख गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।