काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपियन लिग खेल्ने भएकी छन् । अञ्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको निस अट्रोमिटौले सिजन २०२४/ ०२५ को लागि सम्झौता गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ।
अञ्जिला पहिलो एसिया बाहिर खेल्न लागेकी हुन् । अञ्जिलाले युरोपियन क्लबबाट खेल्न पाउँदा खुसी लागेको बताएकी छन्। ‘पहिलो पटक युरोपियन लिग खेल्न पाउँदा खुसी छु,’ अञ्जिलाले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । दुई वर्षदेख लगातार प्रयासमा थिए। अहिले त्यो पूरा हुने भएको छ। लिग खेल्ने उत्साहित छु।’
विभागीय टोली एपिएफ क्लबमा आबद्ध अञ्जिला युरोपको लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् । अञ्जिला अगाडि स्ट्राइकर सावित्रा भण्डारीले युरोपमा खेलेकी छन् । इजारयली लिगको अनुभव लिइसकेकी सावित्रा हाल फ्रेन्च लिगमा आबद्ध छिन् ।
निस अट्रोमिटौ पछिल्लो सिजन २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ हारको नतिजासहित नवौं स्थानमा थियो।
यसअघि अञ्जिलाले भारतीय र पाकिस्तानी लिग खेलेकी थिइन् । उनले भारत सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेमा एक सिजन बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।