काठमाडौँ । नेपालकी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्।
पलेशाले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जित्दै इतिहास रचेकी हुन्। उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छन्। यो नेपाली खेलकुदो हालसम्मकै सबैभन्दा ठूलो पदक हो।
पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी हुन्। रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन्।
सेमिफाइनलमा भने पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलकी सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। त्यसअघि शुक्रबार नै उनले क्वार्टरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरले पराजित गरेकी थिइन्।