,

अमेरिकामा ममता बेपत्ता भएको तीन सातापछि प्रहरीले पक्राउ गर्‍यो उनका श्रीमान नरेशलाई

Bimala Sene Avatar

न्यूयाेर्क। अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्ट तीन सातासम्म पनि नभेटिएपछि प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको छ।

बिहीबार भर्जिनिया प्रहरीले मनासस पार्कस्थित नरेशको घरबाटै उनलाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यम सेभेन न्युजले जनाएको छ।

सेभेन न्युजले नरेशलाई प्रहरीले पक्राउ गर्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ।

ममताको मृत्यु भइसकेको आकलन गरिएको र शव ममताकै श्रीमान नरेशले लुकाएको हुनसक्ने सुराकहरू भेटिएपछि उनलाई पक्राउ गरिएको मनासस पार्कका प्रहरी प्रमुख मारिओ ल्युगोले सेभेन न्युजसँग बताएका छन्।

बेपत्ता भएकी ममतालाई खोज्न त्यहाँको प्रहरीले १० वटा भन्दा बढी खोजी अपरेसन चलाएको थियो।

बुधबार मनासस पार्कस्थित उनीहरूको घरमा प्रहरीले छापा मारेको थियो। त्यतिबेला नरेशले सहयोग नगरेको प्रहरी प्रमुख ल्युगोलाई उद्धृत गर्दै सेभेन न्युजले लेखेको छ।

उनी शंकास्पद देखिएपछि पक्राउ गरिएको र थप अनुसन्धानबाट ममता बेपत्ता भएको घटनाबारे थप कुरा पत्ता लाग्ने ल्युगोले बताएका छन्।

ममता आफू काम गर्ने भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा अन्तिमपटक जुलाई २७ मा देखिएकी थिइन्। उनी जुलाई २८ सम्म साथीहरूसँग सम्पर्कमै रहेको भनिएको छ।

त्यसपछि सम्पर्कमा नआएपछि उनका साथीहरूले प्रहरीलाई खबर गरेका थिए। अगस्ट २ मा प्रहरी नरेश र ममता बस्ने मनासस पार्कस्थित घरमा पुगेका थिए। त्यतिबेला घरमा नरेश र उनीहरूका १ वर्षका छोरी मात्रै थिए।

नरेशले ममता बेपत्ता भएको निवेदन प्रहरीलाई दिन अस्वीकार गरेका थिए। ममता त्यसअघि पनि पटकपटक घरबाट बेपत्ता हुने गरेको बताएर नरेशले प्रहरीलाई फर्काइदिएका थिए। ममताका साथीहरुको मौखिक उजुरीमा प्रहरीले अन्यत्र खोजी सुरू गरिसकेको थियो।

अगस्टको ५ तारिखमा मात्रै नरेशले आफ्नी श्रीमती बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। त्यसपछि प्रहरीले तीन दिनसम्म ममताको व्यापक खोजी गरेको थियो।

प्रहरीले उनका साथीहरूसँग सोधपुछदेखि स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भिडिओहरूलाई पनि मिहीनरूपमा अध्ययन गरेको र सय जनाभन्दा बढीसँग सोधपुछ गरेको प्रहरी प्रमुख ल्युगोले बताएका छन्।

बुधबार नरेशकै घरमा छापा मारेपछि बिहीबार उनलाई पक्राउ गरिएको हो।

‘अहिले शव लुकाएको अभियोगमा पक्राउ गरिएको हो। थप अनुसन्धानपछि अन्य विषय पनि खुल्ला,’ प्रहरी प्रमुख ल्युगोले भने।

प्रहरीले ममताको खोजी पनि जारी राखेको छ।

ममताकी १ वर्षीया छोरीलाई भने प्रहरीले सामाजिक संस्थाको जिम्मा लगाएको छ। उनी सुरक्षित र स्वस्थ रहेको पनि प्रहरीले बताएको छ।

ममताकी आमा नेपालमै छिन्। छोरी बेपत्ता र ज्वाइँ पक्राउ परेपछि नातिनीको जिम्मा लिन आकस्मिक भिसा लिएर अमेरिका जाने तयारी गरिरहेको पनि सेभेन न्युजले उल्लेख गरेको छ।

‘अहिले उहाँ केबल आमाबाबुबाट एक्लिएकी आफ्नी नातिनीको जिम्मा लिन मात्रै अमेरिका जान खोज्नुभएको हो। नेपालस्थित अमेरिकी दूतावासलाई चाँडै भिसा दिन अनुरोध गर्नुस्, किनकी त्यो बच्चाको हेरचाह गर्न कोही चाहिन्छ। त्यसमा ममताकै आमा हुनु राम्रो हो,’ अध्यागमन अधिवक्ता बन्दिता शर्माले सेभेन न्युजसँग भनेकी छन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search