एजेन्सी : अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बेरी बच विल्मोर दुई महिनादेखि अन्तरिक्षमा फसेका छन् तर उनीहरू कहिले फर्किन्छन् भन्ने अझै निश्चित छैन।
गत जुन ५ मा अन्ताराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि परीक्षण मिशन लिएर उडेका उनीहरू अनिश्चितकालका लागि फसेका छन्। ६१ वर्षका विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर यानले अन्तरिक्षसम्म पुर्याएको थियो। नयाँ अन्तरिक्षयानलाई नियमित रूपमा प्रयोग गर्नुअघि कस्तो प्रदर्शन गर्दछ भनेर परीक्षण गर्नु यो मिशनको उद्देश्य थियो तर मिशनमा खराबीका कारण दुई यात्रीको फिर्ता सम्बन्धमा आगामी कदम के हुने भन्नेमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले स्पष्ट पार्न सकेको छैन।
नासाको प्रतिक्रिया
नासाले पछिल्लो पत्रकार सम्मेलनमा यसबारेमा यही महिनाको अन्त्यमा मात्र कुनै ठोस फैसला लिने बताएको बिबिसीले जनाएको छ। ‘सुनिता र विल्मोर जस्ता अन्तरिक्षयात्री मिशनका विविध पक्ष र त्यसक्रममा हुनसक्ने सम्भावित परिस्थितिका बारेमा राम्रोसँग जानकार थिए’‚ नासाका प्रमुख अन्तरिक्षयात्री जो एकाबाले भने‚ ‘उनीहरू मिशनमा आउने चुनौतीका लागि मानसिक र शारीरिक रूपमा तयार हुने गरी तालिमप्राप्त थिए।’
एकाबाका अनुसार सुनिता र विल्मोर सामेल मिशन टेस्ट फ्लाइट अर्थात् परीक्षण उडान थियो र दुवैजना यो मिशन पूर्ण छैन भन्ने जान्दथे। मानवयुक्त अन्तरिक्षयान आफैंमा जोखिमपूर्ण हुने भन्दै उनले एक अन्तरिक्षयात्रीका रूपमा यो आफूहरूको काम भएको बताए। ‘दुवै अन्तरिक्षयात्री त्यहाँ राम्ररी बसिरहेका छन् र उनीहरू जोखिमयुक्त मिशनमा जान तयार पनि थिए’‚ नासाले भनेको छ।