लन्डन । रेडिङ कप फुटबल प्रतियोगिताको १७औँ संस्करण आगामी ३१ अगस्टमा हुने भएको छ । ग्रेटर रेडिङ नेप्लिज कम्युनिटी (जीआरएनसी) को आयोजनामा बेलायतको रेडिङस्थित पाल्मर पार्कमा प्रतियोगिता हुने भएको हो ।
यस वर्ष प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ । युवा (१८ वर्षमाथि), भेटेरान (३६ वर्षमाथि) र सुपर भेटेरान (४५ वर्षमाथि) गरी विधामा खेल हुनेछ । युवातर्फका विजेताले २ हजार २४ पाउन्ड तथा उपविजेताले १ हजार २४ नगद प्राप्त गर्नेछन् । प्रवेश शुल्क २५० पाउन्ड राखिएको छ ।
भेटेरानका विजेताले १ हजार २४, उपविजेताले ५२४ तथा सुपर भेटेरानका विजेताले ५२४ तथा ३२४ पाउन्ड नगद पुरस्कार पाउनेछन् । भेटेरानको प्रवेश शुल्क २५० र सुपर भेटेरानको १५० पाउन्ड तोकिएको आयोजकले जनाएका छन् ।
प्रतियोगिता नेपाली पञ्चेबाजा, सेलरोटी मोमोलगायत नेपाली परिकारका विभिन्न खानेकुरा, नाचगान र खेलकुदको संयोजनका रूपमा रहने आयोजकले जनाएका छन् ।
संस्थाका तत्कालीन अध्यक्ष महेश गुरुङको नेतृत्वमा वर्तमान उपाध्यक्ष प्रेम गुरुङ, अर्जुन बस्नेत र सीबी गुरुङलगायत कार्यसमिति र सल्लाहकारको अगुवाइमा यो प्रतियोगिता २००६ मा सुरु भएको हो ।