लन्डन । तमुधिं यूकेले हरेक वर्ष आयोजना गर्नै फुटबल प्रतियोगिता गोर्खा कपको २२ औं संस्करणको तयारी पुरा भएको छ ।
आउंदो २६ मे आइतबारहुने सो प्रतियोगिताको बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गोर्खा कप संयोजक तथा स्पोर्टस् सेक्रेटरी क्याप्टेन दीपकराज घलेले २२ औं गोर्खा कपमा मेन क्याटेगोरिजमा ३२ टिम, भेट्रानमा १६ टिम र २ वटा महिला टिम बीच प्रतिष्पर्धा गराइने जनाकारी दिए।मेन तर्फ पहिलो हुने टिमले ३००० पाउण्ड, रनरअपले १८०० पाउण्ड, ट्रफी एवं सर्टिफिकेट पाउनेछन् भने भेट्रान टिम वीनरले १५०० पाउण्ड, रनरअप १२०० पाउण्ड, लेडिज वीनरले ६०० पाउण्ड र रनरअपले ४०० पाउण्ड पुरस्कार पाउने संयोजक घलेले बताए । वेष्ट प्लेयरलाई गोर्खा वाच दिइनेछ ।
शनिबार मिचेटस्थित तमुधिं यूकेको आफ्नै कार्यालयमा भएको पत्रकार सम्मेलनमा संयोजक घलेले फुटबल स्तरवृद्धि, युवाहरुमा लागूऔषध र मदिराको कुलत न्यूनीकरण, स्थानीय समुदायसंग अन्तरघुलन, कोष अभिवृद्धिलगायत उद्देश्सहित गोर्खा कप गर्न लागिएको बताए । सो अवसरमा व्यवसायिक फुटबलरहरु कविन राई, विभेस गुरुङ र गोरक घलेलाई निमन्त्रणा गरिएको छ ।खेल संयोजक घलेले गोर्खा कप सम्पन्न गर्न तीनसय बढी स्वयंसेवक खटिने जनाए । ५५ हजार पाउण्ड खर्च हुने अनुमान छ । खेलबाट वचत भएको रकम च्यारिटीमा खर्चने जनाएको छ ।
स्टल संयोजक तमुधिं यूके उपाध्यक्ष कमल कोने गुरुङले यो पटक रेष्टुरेन्टका १८, लत्ता कपडाका २६, नेपाली हस्तकलाका १० र व्यापारिक ६० स्टल रहने जानकारी गराए । अल्कोहल विक्री भने प्रतिवन्ध छ । सांस्कृतिक कार्यक्रम पनि गोर्खा कपको मुख्य आकर्षण रहनेछ ।
तमुधिं यूके अध्यक्ष हरि गुरुङले यसपटकको गोर्खा कपमा केही नयां गर्ने प्रयास गरिएको बताउदै गोर्खाकप बेलायतका सबै नेपालीको साझा कार्यक्रम रहेकोले यसलाई सफल पार्न सबैको साथ र सहभागिताका लागि आव्हान गरे ।
कार्यक्रममा तमुधिं यूकेका वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालन गर्दै ‘हेल्थ एण्ड सेफ्टी’ ब्रीफ गरेका थिए ।
सो अवसरमा मिडिया सेक्रेटरी एस के गुरुङले पत्रकारहरुको परिचय गराएका थिए भने अध्यक्ष हरी गुरुङ लगायतले खेलमा निमन्त्रणा गर्दै उनीहरुको सम्मान गरे ।
सो अवसरमा कुमार गुरुङ र कुसाङ गुरुङले ‘टिम ड्र’ गराएका थिए । प्रतियोगिताका लागि उपलब्ध स्थानभन्दा धेरै टिमहरुको आवेदन आएपनि केहीलाई रिजर्भमा राखिएको र कतिपयलाई फर्काउनुपरेको कुमार गुरुङले बताए ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष परशु गुरुङ, सचिव विमल गुरुङ, कोषाध्यक्ष दिलमाया गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्ष एवम् एनआरएनए यूके अध्यक्ष हितकाजी गुरुङ, पूर्व अध्यक्षहरु ज्ञाम गुरुङ, रामचन्द्र (सूर्जे) गुरुङ, नन्दजंग गुरुङ, आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र पदाधिकारी, तमुधिं यूके इकाई अध्यक्षहरु, सल्लाहकारहरु लगायतको सहभागिता थियो ।