भूकम्पको सबैभन्दा बढी जोखिम क्षेत्र काठमाडौँ उपत्यका रहेको देखिएको छ। काठमाडौँ उपत्यकामा धेरै पुराना इतिहास बोकेका पुरातात्विक वस्तु र सम्पदा भएकाले भूकम्पले कुनै पनि बेला ढल्न सक्ने भएकाले जोखिममा रहेको राष्ट्रिय भूकम्प प्रविधि केन्द्र (एनसेट) का प्रतिनिधि सूर्यभक्त साँगाछले बताउनुभएको हो।
नेकपा (एमाले) काठमाडौँ क्षेत्र नं ७ ले सोमबार काठमाडौमा आयोजना गरेको ‘भूकम्पपछि भित्री सहरको अवस्था र राज्यको दायित्व’ विषयक अन्तक्र्रियामा उहाले वर्तमान अवस्थामा सहरी पुननिर्माण, प्राकृतिक प्रकोप जोखिम, सम्पदाको संरक्षण अहिलेको टट्कारो आवश्यकता भएको बताउनुभयो। कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले वर्तमान अवस्थामा पर्यावरणमैत्री सुरक्षित बासस्थानको आवश्यकता रहेको भन्दै संरचना जोगाउन बहुपक्षीय तरिकाले सोच्नु आवश्यक रहेको बताउनुभयो। उहाँले भूकम्पको जोखिम कम गर्न उपयोग नीति, बस्ती निर्माणको नीति र भवनको नीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो।
काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भूकम्पले प्रभावित पारेको काठमाडौँ महानगरपालिकाका भौतिक वस्तुलाई अन्यन्त्र सार्नेबारे पुरातत्व विभागलगायतका निकायसँग छलफल भइरहेको बताउनुभयो।नेकपा (एमाले)को राष्ट्रिय स्वयम्सेवक परिचालनअन्तर्गत काठमाडौँ क्षेत्र नं ७ मा १ सय १६ घर निर्माण गर्नुका साथै एक सयभन्दा बढी घरको भग्नावशेष हटाइसकेको जनाएको छ।
}