काठमाडौँ । सुनसरीमा आयोजित ३३औँ राष्ट्रिय कविता महोत्सवमा बेलायतको लन्डन निवासी कवि शान्ति लिम्बू द्वितीय भएकी छन् ।
कवि विमल गुरुङ कृति पुरस्कार अर्पण समारोहमा शनिबार आयोजित प्रतियोगितामा शान्तिको कविता ‘थेम्स नदिको किनारै किनार’ले दोस्रो स्थान हासिल गरेको हो । पाँचथर समाज सेवा समाज यूकेकी अध्यक्षसमेत रहेकी लिम्बूले हालै ‘कस्तुरी यात्रा’ बजारमा ल्याएकी थिइन् ।
प्रतियोगितामा नवलपरासीका अन्जान प्रदीप ‘सपना’ शीर्षकको कविता वाचन गर्दै प्रथम भए । ‘फूल र म’ शीर्षकको कविताबाट मोरङकी समीक्षा छिलिङ राई तृतीय भइन् ।
प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कविताको निर्णायकमा देवेन्द्र खापुङ ‘सुर्केली’, सुन्दर कुरुप र अनलाइन निर्णायकका रूपमा अस्ट्रेलियाबाट कविता राई ‘गाउँले’ थिए ।
यस वर्षको कवि विमल गुरुङ कृति पुरस्कार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई प्रदान गरिएको थियो ।