एजेन्सी । ब्राजिलको राजधानी ब्रासिलियामा सुक्खापनले रेकर्ड बनाएको छ । ब्रासिलियामा पछिल्लो १ सय ६४ दिन एक थोपा पनि वर्षा नभएपछि सबैभन्दा लामो सुक्खा मौसमको नयाँ रेकर्ड बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अहिले १ सय ६४ दिनसम्म पानी नपरेको र अझै केही दिन पानी पर्ने सम्भावना नरहेको खबरमा उल्लेख छ । लामो समयसम्म चलेको खडेरीले देशका विभिन्न क्षेत्रका जङ्गलमा ठूलो आगो लागिरहेको छ । हजारौं हेक्टर घाँसेमैदान जल्दा जीवतन्तु समस्यामा परेका छन् ।
ब्राजिलियाको स्थापनाको तीन वर्षपछि सन् १९६३ मा लगातार १ सय ६३ दिन वर्षा नभएको रेकर्ड बनेको थियो । ब्राजिलको मध्य क्षेत्रमा रहेको ब्रासिलिया शहर अहिले अत्यधिक गर्मी र कम आर्द्रताको दोहोरो खतरासँग जुधिरहेको छ । १५ प्रतिशतको अति कम आर्द्रता र ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमका कारण विभिन्न चेतावनी जारी भएको छ ।
राष्ट्रिय अन्तरिक्ष अनुसन्धान संस्थान (आईएनपीई) को एक रिपोर्टले अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्राजिलियामा जङ्गलमा लागेको आगोमा २ सय ६९ प्रतिशतले वृद्धि भएको देखाएको छ ।