लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) गाहामगर समूहले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ ।
अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका छन् । लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ-आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो ।
एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित रहन सुझाएको छ । त्यसैगरी, संघले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दंगामा भाग नलिन पनि सल्लाह दिएको छ । कुनै पनि हिंसा वा भेद्भावका घट्ना भए प्रहरी वा स्थानीय नेपाली संगठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ । संघले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ ।
केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरि सहयोग लिन उसको सुझाव छ। अहिलेको चुनौतीपूर्ण समयमा सुरक्षा र एकतालाई प्राथमिकता दिने उल्लेख गर्दै केही समस्या भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि अध्यक्ष गाहामगरले अनुरोध गरेका छन् ।