एजेन्सी । स्पेनको एक हेरचाह गृहमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । उत्तर–पूर्वी स्पेनको जरागोजा नजिकैको एक हेरचाह गृहमा भएको आगलागीमा परी १० जनाको ज्यान गएको र अन्य केही मानिस घाइते भएका आपत्कालीन सेवाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
आगलागीमा परी घाइते भएकाहरूको सङ्ख्या भने उल्लेख भएको छैन । भिल्लाफ्रान्का डे एब्रो शहरमा शुक्रवार बिहान आगलागी भएको र स्थानीय अधिकारीहरूले हेरचाह गृहमा ८२ जना मानिस बस्दै आएका बताएका छन् ।
स्थानीय रिपोर्टहरूका अनुसार यो केन्द्र १६ वर्षअघि सेवानिवृत्ति गृहका रूपमा खोलिएको थियो र पछि डिमेन्सिया अर्थात् बुढेसकालमा बिर्सने समस्या र मानसिक स्वास्थ्य समस्या भएकाहरूको हेरचाहमा विशेष बनाइएको थियो ।
नौ वर्षअघि जरागोजा क्षेत्रमा रहेको अर्काे सेवानिवृत्ति गृहमा भएको आगलागीमा परी नौ जनाको ज्यान गएको थियो ।