लन्डन । नेपाली साहित्य विकास परिषद् यूकेले नयाँ वर्ष २०८२ आगमनको अवसरमा सम्मान, सिर्जना वाचन र गीत सङ्गीतको संयोजनमा उत्साहवर्धकरूपमा नेपाली नयाँ वर्ष मनाएको छ । वेष्ट लन्डनस्थित एबीआई कलेज, एक्टनमा आयोजित समारोहमा बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेलाई परिषद्को पदेन संरक्षककारुपमा स्वागत सम्मान गरियो ।
परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, प्रमुख वरिष्ठ सल्लाहकार डा. राघवप्रसाद धिताल ओबीइ, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी लगायत साहित्यकारहरुले राजदूत घिमिरेलाई ब्याज, खाता, पुष्पगुच्छा र प्रशंसापत्रबाट अभिनन्दन गरे । उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत घिमिरेले विदेशमा नेपाली पहिचान जीवन्त राख्न एवं नेपाली भाषा, साहित्य, संस्कृति जस्ता मूलभुत कुराहरू संरक्षण र संवर्धन गर्न परिषदले निरन्तर गरेका गतिविधि अत्यन्त सराहनीय रहेको बताए ।
समारोहमा परिषदको संरक्षकत्व ग्रहण गर्दै राजदूत घिमिरेले नेपाल र नेपालीको पहिचान समृद्धि हुने परिषद्का यस्ता सिर्जनात्मक कार्यमा राजदूतावासको सहयोग र सहभागिता निरन्तर रहिरहने विश्वास पनि व्यक्त गरे । राजदूत घिमिरेले सबै सर्जकमा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नेपाली दूतावास र आफ्नो तर्फबाट शुभकामना समेत व्यक्त गरे ।
समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार तथा यती नेपाली एसोसिएसन यूकेका पूर्व अध्यक्ष डा. राघव प्रसाद धिताल ओबीइले बेलायतमा नेपाली भाषा साहित्य, कला जस्ता नेपाली पहिचानलाई जीवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरु सराहनीय भएका बताए ।
कार्यक्रम शुभारम्भ गर्दै परिषद्की महासचिव कवि डा. सुधा श्रेष्ठले बेलायती भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद्ले साहित्यिक गतिविधि गर्दै आएको बताइन् ।
कार्यक्रममा कविहरु वसन्त रायक्षेत्री, वासु सापकोटा, घन बहादुर थापा, रेशम अर्याल, डा. सुधा श्रेष्ठ, अनुप अधिकारी, हरिसिंह थापा, मनोज अन्जान, वीरेन्द्र कुंवर र कोमल मल्लले कविता वाचन गरेका थिए ।