काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सिमित दलका नेताले कोठामा गरेको निर्णय आफूलाई मान्य नहुने बताउनुभएको छ। संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै थापाले वर्षौदेखि केही सिमीत दलका नेताहरुले कोठामा गरेको निर्णय चुपचाप सहनु परेको बताउनुभएको हो।
‘सबैभन्दा पहिलो हामी कस्तो संविधान र कसरी बनाउन गइरहेका छौ ,यहाँ छलफल गर्न र नियम अनुसार बोल्न पाउने अधिकार छ कि छैन ?,’ थापाले प्रश्न गरे,‘ आफ्ना स्वार्थ र हितका लागि संविधान, नियमावली निलम्बन गरिन्छ। सर्वोच्चको आदेश मिचिन्छ अनि हामीलाई नियम सिकाइन्छ।’
‘हामी विधि र प्रक्रियामा चल्ने कुरामा भाग लिन तयार छौं। तर, मस्यौदा समितिले पारित गरेको होइन। समितिले जुन मस्यौदा पारित गर्यो त्यसमा भाषा मिलाएर ल्याउने नाममा सभापतिले मस्यौदामा फेरवदल भयो,’ थापाले भन्नुभयो, ‘षडयन्त्र शब्द नभनौ जालझेल भएकै छ। केही व्यक्तिहरु बसेर आफ्नो इच्छा अनुसार फेर बदल शब्दमा भएकै छ। दुईदिन पछि पेश भएको मस्यौदामा हेरफेर भएको छ।’