विनाशकारी भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जिल्ला सिन्धुपाल्चोकमा विभिन्न संघसंस्थाहरुले राहत सामाग्री वितरण गर्ने क्रम जारी छ। यसैबीच जर्मनीमा अध्ययनरत सिन्धुपाल्चोक कदमवासका विद्यार्थीको अगुवाईमा संकलित रकमबाट सिन्धपाल्चोकका २ गाविसमा राहत वितरण गरिएको छ। सिन्धुपाल्चोकको कदमबास र सागाँचोक गाविसका ३ सय ५० घरधुरीलाइ आवश्यक खाद्यान्न राहत स्वरुप वितरण गरिएको हो।
राहत वितरणको संयोजक नारी संकल्प सहकारीले गरेको थियो। कदमवासका स्थानीय एवं समाजसेवी ईन्द्रकुमार गिरिका अनुसार आफ्नो जन्मथलोमा समस्या परेको बेला स्वदेश र विदेशमा रहेका व्यक्तिहरुले संकलन गरेर राहत वितरण गरिएको हो। राहत वितरणका क्रममा साँगाचोक र कदमवासका प्रति घरधुरीलाइ ३० केजी चामल तथा दाल, नुन, तेल, चाउचाउ, सेनिटरी प्याड लगायतका सामाग्री बाँडिएको थियो। भूकम्पका कारण कदवास र सांगाचोक गाविसमा ९५ प्रतिशत घरहरु ध्वस्त भएका छन् भने सयौंको ज्यान गइसकेको छ।
}