लन्डन । बेलायतमा सम्पन्न पीपल सातौँ नेपालकप टी२० क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ । हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माया क्रिकेट क्लब विजेता बनेको हो ।
पोखरेली मञ्च यूकेले बेलायतको रेडिङस्थित रेडिङ क्रिकेट एन्ड हक्की क्लबको मैदानमा सोमबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ९ टोली सहभागी भएका थिए ।
उपाधिसँगै मायाले नगद १ हजार ५०० पाउन्ड र ट्रफी तथा उपविजेता हिमालयनले नगद ८०० प्राप्त गरेको छ ।
दिनेश खरेल प्रतियोगिताको म्यान अफ द सिरिज बन्दै नगद २०० पाउन्ड र ट्रफी प्राप्त गरे । एसरे मल्ल सर्वाधिक रन तथा मनी गुरुङ सर्वाधिक विकेट लिने खेलाडी बने । दुवैले जनही १५० पाउन्ड नगद र ट्रफी पाए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट मान्यताप्राप्त रेफ्रीबाट प्रतियोगिता सञ्चालन गराइएको थियो । प्रतियोगिताको इभेन्ट संयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ तथा क्रिकेट संयोजक स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ थिए । टाइटल स्पोन्सर पीपल मोर्गेजेज रहेको थियो ।
अन्त्यमा मञ्चका अध्यक्ष करम गुरुङले प्रतियोगिता सफल पार्न सहयोग गर्ने खेलाडी, टिम, प्रायोजक, सहयोगी, दर्शक एवं संस्थाका सबै पदाधिकारी तथा सदस्यलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए ।
आइतबार ७ जुलाईमा तोकिएको फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको थियो । सुरुआती खेलहरू ३० जुन र ३ जुलाईमा भएका थिए ।