सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा सोमबारदेखि खलेका छन्। पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथलगायत क्षेत्र भूकम्पपछि पर्यटकको सुरक्षाका लागि बन्द गरिएको थियो।
सम्पदा क्षेत्र खुलाउन विगत केही समययता सम्पदा क्षेत्र परिसरमा सरसफाइलगायत कार्यलाई तीव्र बनाइएको जानकारी गराउँदै पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ती क्षेत्र सोमबारदेखि पर्यटकका लागि खुला गरिएको जानकारी दिनुभयो। सम्पदा क्षेत्र खुला हुने भएसँगै विगत केही समययता प्रभावित भएको नेपालको पर्यटन क्षेत्र केही दिनमा नै सकारात्मक मार्गमा उन्मुख हुने पर्यटन सम्बद्ध व्यवसायीहरु बताउँछन्।