काठमाडौँ : काठमाडौँ महानगरपालिकाले सडकमा फोहर गरेको भन्दै सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना लगाएको छ।
शुक्रवार एमालेले यहाँको दरबारमार्गमा जागरणसभा आयोजना गरेको थियो। सोही क्रममा सडक क्षेत्रमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको जनाएको छ।
एमाले पार्टीलाई सम्बोधन गरी नगर प्रहरी निरीक्षक लिलाराज गाछाद्वारा पठाइएको जरिवानासम्बन्धी पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं १ दरबारमार्गस्थित खुल्ला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेकाले तपाईंलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १००,०००र०० अक्षरेपि एक लाख जरिवान गरिएको बेहोरा निर्देशानुसार अनुरोध गर्दछु।’