काठमाडौँ- नेपाल सरकारले संविधान दिवस (राष्ट्रिय दिवस), २०८१ तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ ।
संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ ।
समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
समितिको निर्देशानुसार असोज २ गते सङ्घीय सरकार तथा केन्द्रीयस्तरका कार्यक्रमअन्तर्गत संविधानका विषयमा केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमहरूको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
त्यस्तै, राष्ट्रियस्तरका छापा सञ्चारगृहहरूलाई संविधान दिवस (राष्ट्रिय दिवस) को उपलक्ष्यमा विशेषाङ्क-स्मारिका प्रकाशन गर्नाका साथै संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।
रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक एवं निजी क्षेत्रका अन्य विद्युतीय तथा छापा सञ्चारमाध्यमहरूबाट संविधानको महत्वको बारेमा कार्यक्रम प्रसारण-प्रकाशन गराउने तथा परिसंवाद कार्यक्रम सञ्चालन गरिने समितिले जनाएको छ ।
त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र र सबै सरकारी तथा गैरसरकारी कार्यालयमा दीप प्रज्वलन गर्ने व्यवस्था मिलाइने छ ।
आम नागरिकलाई आ–आफ्नो घरको छत, बरन्डामा राष्ट्रिय झन्डा सजाउन र साँझ दीपावली गर्न आह्वान गर्ने, सम्भाव्य फराकिला सार्वजनिक चोकहरूमा राष्ट्रिय गान र राष्ट्रभक्तिका साङ्गीतिक महोत्सव आयोजना गरिने छ ।
आगामी असोज ३ गते नेपाली सेनाद्वारा सैनिक मञ्च, टुँडिखेलमा बिहान सूर्योदयसँगै बिगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाइँ (स्याल्भो र भली फायर) गरिने छ । नेपाली सेनाको हेलिकप्टरबाट ‘संविधान दिवस, २०८१’ अङ्कित ब्यानर रिङ्गरोड वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि र ब्यानर प्रदर्शन गर्ने कार्यक्रम छ ।
नेपाली सैनिक मञ्च, टुँडिखेलमा संविधान दिवस, २०८१ को औपचारिक मूल समारोह आयोजना गर्ने र उक्त समारोहमा निर्वाचित जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षाकर्मीहरु, सार्वजनिक तथा सामुदायिक सङ्घसंस्था र शैक्षिक तथा प्राज्ञिक प्रतिष्ठानका पदाधिकारीहरू, कर्मचारीहरू तथा सर्वसाधारण समेतको उपस्थितिका लागि आमन्त्रण गरिने छ ।
त्यसैगरी, असोज ४ गते सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्थाका कार्यालयहरूको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्रमा दीप प्रज्वलन गर्ने समितिको निर्णय छ ।