लन्डन । नेपाल रन यूकेका संस्थापक सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएर ‘गिनिज वल्र्ड रेकर्ड’ बनाएका छन् । सन्तोषले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गरेर वल्र्ड रेकर्ड बनाएको हो ।
आइतवार सम्पन्न संसारकै प्रतिष्ठित लन्डन म्याराथनको ४५औं संस्करणमा सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमा लन्डन म्याराथन दौडिएका थिए । उक्त म्याराथुनमा एक सय बढी नेपालीले पनि दौडिएका थिए ।
लन्डन म्याराथनमा नेपालकी राष्ट्रिय धाविका सन्तोषी श्रेष्ठले नयाँ कीर्तिमान कायम गरेकी थिइन । उनले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन ।
सन्तोषीले गत वर्ष बंगलादेशको ढाकामा आयोजित बंगबन्धु शेख मुजीब ढाका म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन्। उनले त्यतिबेला निर्धारित दूरी २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरी स्वर्ण पदक जितेकी थिइन् ।
सन्तोष राईले नेपालमा सामाजिक सेवा समेत गर्दै आएका छन । उनले नेपालमा खेलाडीहरुलाई आर्थिक सहयोग जुटाउने र खेल प्रर्वद्धनमा ठुलो योगदान दिदै आएका छन ।
यसपटकको लन्डन म्याराथनमा नेपाल रन यूकेको संयोजनमा ९६ जना नेपालीले भाग लिएका थिए । यस वर्षको लन्डन म्याराथनमा पुरुषतर्फ केन्याका सबस्टियन सावे २ घण्टा २ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै विजेता बनेका छन् । महिलातर्फ विजेता इथियोपियाकी टिस्ट आसिफाले २ घण्टा १५ मिनेट ५० सेकेन्डमा दूरी पूरा गरेकी छन् ।
यस वर्ष निर्धारित ४२ किमी बढी दूरी पूरा गर्नेहरुको संख्या हालसम्म संसारकै सर्वाधिक ५६ हजार ६ सय ४० को थियो ।