गत हप्ता बेलायतको लन्डनमा मृत भेटीए २५ वर्षीय सन्दीप तामाङको पहिचान खुलेको छ ।
तामाङ घर ललितपुरको नखिपोट र परिवारसँग सम्पर्क स्थापित भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले मृतकको परिवारसम्म पुग्न सफल भएको जानकारी दिएका छन् ।
तामाङ केही समयअघि ‘स्किल्ड’ भिसामा बेलायत आएको र पछिल्लो समय परिवारसँग समेत सम्पर्कमा नरहेको पाइएको छ । तामाङको शव बुझ्ने र नेपाल लैजाने वा बेलायतमै अन्त्येष्टि गर्ने जस्ता विषयमा दूतावासले अब उनको परिवारसँग सल्लाह गर्ने नेपालले जनाए ।
तामाङको मृत्युको कारण अझै स्पष्ट भइनसकेको र दूतावासले बेलायती प्रहरीसँग थप जानकारी माग गरेको जनाइएको छ।
तामाङको शव यही जनवरी २० तारिखका दिन फेला परेको बेलायती प्रहरीले जनाएको थियो ।